दाङ – दाङमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको डुङगा दुर्घटनामा परेको हो । डुङ्गामा २५ जना विद्यार्थी सवार थिए । सबैजनाको उद्धार गरिएको तर तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

७ जना बोक्ने क्षमता भएको डुङ्गाका २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुङ्गा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् । ’डुङगा सानो भयो, लोड बढी भयो’, उनले भनिन्, ’अवस्था हेर्दा ओभरलोडले पल्टिएको देखिन्छ ।’

लमही नगरपालिका ९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका ७ मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरु सवार डुङगा दुर्घटनामा परेको हो ।

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुङ्गा पल्टिंदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको प्रहरीले जनाएको छ ।