काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अमृता थापामगरले काठमाडौंमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले काठमाडौंसहित देशभरका शहरमा फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिनुका साथै, फोहोरका कारण नेपालका मुख्य शहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो ।

यस्तै, सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिंदै फोहोर व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र संघ सबै जुट्नुपर्ने बताउनुभयो । सांसद अञ्जना विसङ्खेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरि सम्मानजनक तरिकाले पठाउनुपर्ने माग गर्नुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले भने नागरिकता विधेयकमा गम्भीर त्रुटि देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएको बताउनुभयो । उहाँले अब विधेयकको विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु राष्ट्रपतिको संवैधानिक अधिकार भएको बताउँदै विवाह गर्ना साथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताउनुभयो । सांसद गणेश ठगुन्नाले दार्चुलामा बुधबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति जानकारी दिँदै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यस्तै, सांसद जयकुमार राईले देशभरका सडक, पुल समयमै ठेकेदारले निर्माण सम्पन्न नगर्दा यात्रुले सास्ती भोग्नुपरेको हुँदा सरकारले त्यस्ता ठेकेदारलाई समयमै काम गर्न लगाउन ध्यानाकर्षण गराउनुभयो । सांसद झपटबहादुर रावलले कैलालीमा डेङ्गु फैलिएर समस्या देखिएकाले तत्काल रोकथामका लागि सरकारसँग आग्रह गर्नुभयो ।