काठमाडौं – प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुन: विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेका सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुन: विचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ मा प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई आजै पारित गर्ने संसद्को कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।