न्युयोर्क– विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मंकीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सर्ने रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।

डब्लूएचओका रोजामुन्ड लुइसले भन्नुभयो, ‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौँ कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो ।’ मानिसबाट जनावरमा मंकीपक्स सङ्क्रमण सरेसँगै डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रह समेत गरेको छ ।