काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने आजको बैठकले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ । संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

संसद्ले विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्रविचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सोही अधिकार संसद्ले प्रयोग गर्न लागेको हो ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची रहेको छ ।