फाइल तस्वीर

काठमाडौं – पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको छ । लामिछानेले आज एक भिडियो सन्देश जारी गर्दै आफ्नो पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्रै भाग लिने बताएका हुन् ।

उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नहुने पनि बताएका छन् । ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ’, लामिछानेले भनेका छन् ।

प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी निर्वाचन आयोगलाई गराइसकेको उनले बताएका छन् । ‘यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन । प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौँ’, रविले भने ।