काठमाडौं – सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा सिट बाँडफाँडबारे टुङ्गो लगाइने बताइएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने सहमति भएसँगै सिट बाँडफाँडका लागि कार्यदल गठन गरेर काम भइरहेको छ ।
सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा काङ्ग्रेस महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहनुभएको छ । यस्तै, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएको छ ।

गठबन्धनका शीर्ष नेताहरुले साउन मसान्तसम्मको समयावधि दिएर कार्यदललाई सिट बाँडफाँडको मोडालिटी तय गर्न जिम्मेवारी दिएको र यसअघि गठबन्धन दलमा भदौ पहिलो साता सिट बाँडफाँडको टुङ्गो लगाउने सहमति भएको थियो ।