काठमाडौं – निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आजबाट जाँच सुरु गर्ने भएको छ । आगामी सङ्घ र प्रदेशको निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आजदेखि जाँच सुरु गर्ने प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको आजबाट जाँचपरक गर्ने, हेर्ने, कानुनबमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षण सुरु हुने छ ।

सबै कुराको परीक्षण गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुने उहाँले जानकारी दिनुभयो । पौडेलले आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने बताउनुभयो । आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिनुभएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ ।