फाइल तस्वीर

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि आंशिक बदली रहने भएको छ । प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।

प्रदेश १ र बागमती प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।