काठमाडौं – आज बसेको संसद बैठकले दुईवटा विधेयक पारित गरेको छ । आजको प्रतिनिधिसभा बैठकले स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक २०७८ पारित गरेको हो ।

बैठकले राष्ट्रियसभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको प्रत्यायन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको छ ।

त्यस्तै, राष्ट्रिय सभाको सन्देशसहितको स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ लाई पनि बहुमतले पारित गरेको हो । यसअघि आज मङ्गलबार नै दुवै विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा सहभागी सांसदले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भदौ २ गते बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।