काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १० जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । आज सभापति देउवाले काङ्ग्रेस विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुख्यसचिव पौडेलका अनुसार महोत्तरीकी किरण यादव, काठमाडौंकी राधा घले, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी रुकमिनी कोइराला, काठमाडौंकी कल्याणी रिजाल, झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ ।

काङ्ग्रेस विधानमा १६९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । विधान अनुसार देउवाले ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्न पाउनुहन्छ । सभापतिमा निर्वाचित भएलगत्तै देउवाले रामचन्द्र पौडेलसहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको थियो । त्यसपछि आज देउवाले १० जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो । विधान अनुसार उहाँले अझै १० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेको छ ।