काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद सत्य पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गर्नुभयो ।

उहाँले स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रका लागि प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी रोजगारी सृजना गर्ने काममा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पहाडीले भन्नुभयो, ‘बजेट भाषणमा सुन्न र पढ्न पाइने विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै बनिरहेका छन् । यथार्थमा विद्यार्थीहरूले शैक्षिक कर्जाको उपयोग गर्न पाइरहेका छैनन् । सभामुख महोदय, त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि असारे विकासजस्तै औपचारिकता मात्रै बनिरहेको छ । तसर्थ, स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रलाई प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी स्थायी प्रकरणको रोजगार सृजना गर्न ध्यान देओस् भनेर सभामुख महोदयमार्फत नेपाल सरकारलाई जोडदार माग गर्दछु ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले ठूला ठेकदारहरूले ठेक्कापट्टा कब्जा गर्ने गरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाउनुभयो । उहाँले ठूला उद्योगी र व्यवसायीहरूले बैंकहरुलाई नियन्त्रणमा लिएकाले साना व्यापारी र उद्यमीहरूले बैकबाट ऋण नै नपाउने अवस्था आउँदा पनि बेखवर भएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सांसद हिरा गुरुङले काठमाडौँमा फोहोरको समस्या गत वर्षहरूमा भन्दा पनि बढी भएको भन्दै त्यसको व्यवस्थापनका लागि काम गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले बाढीपहिरो र डुबान पीडितहरूलाई राहत दिने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । सांसद गुरुङले भन्नुभयो, ‘हरेक वर्ष नयाँ नयाँ समस्याको रूपमा देखा परेको फोहोर व्यवस्थापन यसपालि झनै ठूलो समस्याको रूप लिएर आयो । पुरै काठमाडौँ दुर्गन्धित भइसकेको छ । सरकारले महानगरको र महानगरले सरकारको मुख हेरेर बस्न मिल्दैन । प्रशासन लगाएर बञ्चरेडाँडामा दुई सय टिपर फोहोर फाल्दैमा सरकारले काम गरेको भन्न मिल्दैन । यसको दीर्घकालीन समस्या समाधानको निम्ति सभामुखमार्फत काम गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । वर्षेनी जाने बाढिपहिरोले जनधनको क्षति भएका जनताहरूलाई उचित व्यवस्थापन गर्ने भनिए पनि कार्यान्वयन पक्ष ढिलासुस्ती भएको हुँदा पीडितहरू आक्रोशित भएका समाचारहरु अखबारहरूमा दिनहुँजस्तो आइरहन्छ । जुरे पीडितले अझै पनि बासको व्यवस्था नपाएकाले ती पीडितहरुलगायत सबैलाई बासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले चौरहजारी विमानस्थलको सेवा सुचारु गराउन सरकारसँग माग गर्नुभयो । उहाँले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गर्नुभयो । सांसद बस्नेतले सो पुलको निर्माण कार्य ढिलाइ हुनुको कारण खोजी गरी छिटो पूरा गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लालाई पायक पर्ने गरी केन्द्र भागमा स्थापना भएको चौरहजारी विमानस्थलमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा दिँदै आएको थियो । तर केही वर्षयता सो सेवा बन्द अवस्थामा छ ।

सरोकारवाला जिल्लाका जिल्ला प्रशासन कार्यालयहरू, उद्योग, व्यवसायी सङ्घ, संस्थाहरूसहित हामी जनप्रतिनिधिहरूले बेलाबेलामा पटक पटक हवाई सेवा सुचारु गर्नका लागि वायु सेवा निगमको कार्यालयमा हामीले अनुरोध गर्दै आएका छौँ र लिखित अनुरोध पनि गर्दै आइरहेका छौँ । पूर्वाधार तयार भएको छ । कालोपत्रे सहितको रनवे छ । तर पनि सेवा सञ्चालन हुन सकिराखेको छैन ।

तत्काल सेवा सञ्चालनका लागि म नेपाल सरकारसँग विशेष आग्रह गर्न चाहन्छु । मध्यपहाडी सडकको भेरी नदीमा पर्ने पुल निर्माण कार्य सुरु भएको दशक भइसक्यो । तर २० प्रतिशत पनि काम अहिलेसम्म हुन सकेको छैन । र, त्यो निर्माण कार्य सम्पन्न नहुनुको कारण के हो ? त्यो कुराको खोजीसहित निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । ’सांसद बस्नेतले दशक बितिसक्दा पनि सो पुल निर्माणको काम २० प्रतिशत मात्रै पूरा भएको उल्लेख गर्दै त्यसलाई ढिलाइ हुन नदिन सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो ।