काठमाडौं – सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले संसदमा पुन:विचारको लागि फिर्ता गरेको नागरिकता विधेयक र सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक तत्काल अगाडि बढाउने भएको छ । आज बिहान बालुटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले दुई विधेयक अगाडी बढाउने सहमित गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

उहाँले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाएर तत्काल संसदमा पेस गर्ने सहमति भएको बताउनुभयो । मन्त्री कार्कीले राष्ट्रपतिलाई भएको सवैधानिक अधिकार बमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा र्फिता आएको बताउनु भयो । उहाँले गठबन्धनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा वृहत रुपमा छलफल गरी सरोकारवालाका सल्लाह सुझाव अनुसार अगाडि बढाउने सहमति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘पाँच दलीय सत्ता गठबन्धन बैठकले दुई वटा विषयमा सहमति जनाएर निर्णय गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा वृहत रुपमा छलफल गरी त्यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संग्लन रहेका सरोकारवाला,मानव अधिकारकर्मी,विभिन्न तह र तप्का लगायत पीडित व्यक्ति तथा संघ संस्थाहरुले दिएका सल्लाह सुझावहरु सत्ता गठबन्धनले गहन रुपमा लिएको छ । त्यसका अतिरिक्त यस बारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप ओयोग विधेयक अगाडि बढाउने सहमति भएको छ । टिआरसीको समस्या सदाका लागि अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको छ ।

त्यस्तै,राष्ट्रपति ज्यूलाई भएको संवैधानिक अधिकार बमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधान बमोजिम पुन:विचार गरी प्रमाणिकरण लागि पुन:पठाएमा प्रमाणिकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भए बमोजिम आएको र उक्त विधेयकलाई संसदलाई तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।’ मन्त्री कार्कीले गठबन्धनले सरोकारवाला,मानव अधिकारकर्मी, विभिन्न तह र तप्का लगायत पीडित व्यक्ति तथा संघ संस्थाहरुले दिएका सुझावलाई समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप ओयोग विधेयक अगाडि बढाउने सहमति भएको बताउनु भयो । उहाँले सरकार सत्यनिरुपण तथा मेलमिलाप ऐनको समस्या अन्त्य गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।