फाइल तस्वीर

काठमाडौं – नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले आगामी निर्वाचनमा बामदेव गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको बैठकले गौतम र डा. भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको हो ।

गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उहाँले बताउनुभयो । गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भन्नुभयो, ‘त्यसलाई हामी स्वागत गर्छौं । उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍यौँ ।’

साथै आज मङ्गलबार नै दल दर्ताको समय सकिने हुँदा आजै बाबुराम र माओवादीले संयुक्त चुनाव चिह्नबाट लड्ने जानकारी दिन निर्वाचन आयोग जाने कार्यक्रम रहेको नेता हरिबोल गजुरेलले बताउनुभयो । नेता गजुरेका अनुसार गौतमको पार्टी आयोगमा दर्ता नभएकाले जानकारी गराउनु नपर्ने भएको हो ।