काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा शिक्षक नियमावली, २०५७ को नियम २६ को उपनियम १ अनुसार रद्द गरेको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा सहभागी एकजना परीक्षार्थीलाई दुई वर्षसम्म प्रतिबन्ध लगाएको हो ।

शिक्षक लाइसेन्सको परीक्षा दिइरहेको भिडिओ बनाएर सामाजिक सञ्जाल टिकटकमा राखेको भेटिएपछि ती परीक्षार्थी कारबाहीमा परेका हुन् ।

साउन २८ गते कैलालीको धनगढीस्थित त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बम्मलाई आयोगले कारबाही गरेको हो । परीक्षाको मर्यादाविपरीत प्रश्नपत्र र उत्तर पुस्तिकाको भिडिओ बनाएर सामाजिक सञ्जाल टिकटकमा राखेपछि उनको परीक्षा रद्ध गरिएको शिक्षक सेवा आयोगले जनाएको छ ।

teacher-license-tiktok_2NRCoOnf4Z.jpg

त्यसैगरी उक्त नियमावलीको नियम ४३ अनुसार आगामी २ वर्षसम्म आयोगको कुनै पनि परीक्षामा सहभागी नहुने गरी रोक लगाइएको आयोगले सूचना निकालेर जनाएको छ ।