काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको राजनीतिक दल दर्ताको समय आज सकिँदैछ । ४ मंसिरमा तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो ।

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ ।

आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि कांग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरु मध्ये सत्तारुढ दल नेपाली काङ्ग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ ।