काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकमा आसन्न मंसिर ४ को सङ्घ र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

बैठकमा डा.बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ । डा.भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे प्रचण्डले पार्टी सदस्यहरुलाई जानकारी गराइसक्नुभएको छ ।
सो प्रस्तावबारे आजको बैठकमा छलफल हुने र अनुमोदन भएको खण्डमा सोही अनुसार निर्वाचन आयोग जानेगरी निर्णय हुने पनि जनाइएको छ । साथै गठबन्धनमा सिटको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा पनि आजको बैठकमा छलफल हुनेछ ।