काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको प्रचण्डको सचिवालयले जनाएको छ ।


बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ । डा.भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ ।