काठमाडौं – सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकमा गठबन्धन दलहरू आ–आफ्ना अडानसहित प्रस्तुत हुँदै छन् । कार्यदलमा नेपाली काङ्ग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहनुभएको छ ।

यस्तै, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल,जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएको छ ।

आगामी निर्वाचनमा सिट बाँडफाँडका लागि गठित कार्यदलले अझै पनि सहमति जुटाउन सकेको छैन । गत बिहीबार बसेको बैठकमा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।

यसैबीच, गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।