काठमाडौं – आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।यसैबीच, भगवान शिवका उपाशकहरुलेले साउन महिनाको बोलबम यात्रा पूरा गरेका छन् । साउने सोमबारका दिन स्वच्छ र सफा जलाशयबाट जल लगेर शिबलाई चढाउने प्रचलन अनुसारको बोलबम यात्रा निकालेका हुन् । शिवजीको प्यारो महिना साउन र बार सोमबार । यसैले होला शिव उपाशक भक्तजनहरु साउनको हरेक सोमबार बोलबम काबर यात्रा गर्ने गर्दछन् ।

काठमाडौंको शुन्दरीजलबाट पशुपतिनाथसम्मको बोल बमयात्रा विहान निकालिएको हो । शिब उपाशक भक्तजनहरुले गेरु वस्त्रमा खालि खुट्टाले पैदल यात्रा गर्दै, सफा र स्वच्छ जलाशयसम्म पुगी जल भरेर पशुपतिनाथको शिवलिंगमा चढाउने प्रचलन छ ।

साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा. रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउनुभएको छ ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि घुइँचो लागेको हो । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि सुरु गरेको व्रत विधिपूर्वक गोदान र पूर्णपात्र गरी आज समापन गर्दै छन् ।