रसुवा – उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङवासीबीच भएको झडपमा प्रहरी निरीक्षक समेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् सेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षक समेत गरी आठ प्रहरी घाइते भएका छन् ।

आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारीसाधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो । घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक प्रहरी निरीक्षक तथा तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी कर्मचारी छन् । साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख र साञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसहितका पदाधिकारीले स्थानीयवासीको माग बेवास्ता गरी प्रहरीसँग झडप गराउने स्थिति सिर्जना गराएको आन्दोलनमा उत्रिएकाहरूले आरोप लगाएका छन् ।

स्थानीयवासीले साञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स ६, लोडर दुई, मोटरसाइकल ६, अफिस तथा टेबुलकुर्सी समेत तोडफोड गरेका जनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले अश्रुग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए ।

७५ लाख रुपैयाँबराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्यांक निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले जानकारी दिए । स्थिति नियन्त्रणका क्रममा पाँच गतलाङवासी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सागर तामाङ, राजन लामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरूलाई उपेक्षा गरेको गतलाङवासीको भनाइ छ । रासस