काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफावार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताउनुभयो ।

उहाँले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोत र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावलोकन गरेर नयाँ विधेयक ल्याइएको जानकारी दिँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमासम्बन्धी अलग्गै ऐन कार्यान्वयनमा रहेकाले उक्त ऐनबमोजिम नै कार्य हुने स्पष्ट गर्नुभयो ।


यसैगरी प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफावार छलफलको प्रतिवेदनसहित सो विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । उहाँले विधेयकले आन्तरिक ऋण उठाउन र वैदेशिक ऋण लिन सरकारी निकाय र सार्वजनिक संस्थाले प्रक्रियाका लागि विधेयकले व्यवस्था गरेको बताउनुभयो ।

सांसदहरु भरत साह, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, राजन केसीलगायतले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।