काठमाडौं – गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेपछि १५ मिनेट घण्टी बजाएर गरिएको गणनामा गणपूरक संख्या नपुगेको पुष्टि भएको हो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा एक चौथाइ ६९ सदस्य हुनुपर्नेमा तीन मिनेट घण्टी बजार गणना गर्दा ६७ जना मात्र सांसद उपस्थित रहेको देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेका लागि बैठक स्थगित गर्नुभयो ।

यसपछि पुन: दोस्रो पटक बसेको बैठकमा पनि सांसद प्रेम सुवालले नै गणपूरक संख्या यकिन गर्न माग गर्नुभयो । त्यसपछि पुन: तीन मिनेट घण्टी बजार गणना गर्दा गणपूरकलाई ६९ जना हुनुपर्नेमा ६७ जना नै उपस्थित रहेपछि आगामी मङ्गलबार सम्मका लागि बैठक स्थगित गरिएको हो । स्थगित बैठक साउन ३१ गते मङ्गलबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।