काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आज आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याए पनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको आरोप लगाउनुभएको हो ।

एमाले अध्यक्ष ओलीले यसअघिको एमाले सरकारले विभिन्न राजमार्ग, देशैभर ३ सय ९६ अस्पताल लगाएका विभिन्न आयोजनाको शिलान्यास गरे पनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार नै गरे पनि अहिलेको सरकारले आफ्नो भू–भागलाई समस्याका रूपमा चित्रण गरेको उहाँको भनाइ छ । ओलीले मुलुकको विकासका लागि स्वच्छ सरकार बन्नुपर्ने र त्यागी नेता हुनुपर्ने जिकिर गर्नुभयो । आफ्नो पार्टीले सदैव युवाहरूलाई अवसर दिएको भन्दै ओलीले युवाहरूले नै देशलाई बनाउनुपर्ने अवस्था आएको धारणा राख्नुभयो । उहाँले आफू सदैव देशका लागि समर्पित भएको र बाचुन्जेल देशको सेवा गर्ने बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा फरक प्रसङ्गमा बोल्दै एमाले अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसा समेत नभएको बताउनुभयो । उहाँले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा समेत दान गरिसकेको बताउँदै, उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताउनुभयो ।