फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकले विगत चार वर्ष अघि सङ्घीय संसदमा दर्ता भएको बीमा विधेयक बल्ल पारित गर्ने तयारी गरेको हो ।

संसद् सचिवालयले आजको बैठकका लागि विभिन्न आठबुँदे सम्भावित कार्यसूची तय गरेको छ । सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

अर्थमन्त्री शर्माले नै ‘बिमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

वि.सं. २०७५ असार २७ गते दर्ता भएको विधेयक आज बस्ने प्रतिनिधिसभाको बैठकले पारित गरिने संसद सचिवालयले सम्भावित कार्यसुची सार्वजनिक गरेको छ । आजै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६,स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची तय भएको छ ।