काठमाडौं – काठमाडौं महानागरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह निहारिका राजपुतलाई भेट्न त्रिवि शिक्षण अस्पतालमा पुग्नुभएको छ । विगत लामो समयदेखि बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंको माइतीघरमा आन्दोलनरत छिन् ।

केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी राजपुतले मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि पुन: काठमाडौं आएर आन्दोलन गर्न थालेकी हुन् । सोही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालय अघि आत्मदाहको प्रयास समेत गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई अहिले शिक्षण अस्पतालमा राखेको छ ।

अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले उनको माग जायज भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’