फाइल तस्वीर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्र्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल र्पुयाउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ । गृहमन्त्री खाँणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिनुभएको हो । जिल्लास्थित स्रोतसाधनले घाइतेलाई अस्पतालसम्म र्पुयाउन नसकिने भए मन्त्रालयमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बूढा गम्भीर घाइते भएका छन् । रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् । जिपमा छ सुरक्षाकर्र्मी सवार रहेको बताइएको छ ।