फाइल तस्वीर


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले आज शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताउनुभयो । मन्त्री पौडेलले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने बताउँदै शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने धारणा राख्नुभयो ।