फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आज बिहान पार्र्टी कार्यालय सानेपामा बसेको बैठकले आगामी सङ्घ र प्रदेशको चुनावका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको हो । नेपाली काङ्ग्रेसले निर्वाचनका लागि दल दर्ता, साउन ३० र ३१ गते पार्र्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने प्रस्ताव पारित गरेको छ ।

आज बसेको बैठकको निर्णय सुनाउँदै सहमहामन्त्री भिष्मराज आङ्दम्बेले भन्नुभयो, ‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरिनेछ ।’

यसैगरी बैठकले निर्वाचनमा पार्र्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्र्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताइएको छ । बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय भएकोमा उक्त अभियान भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।