काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा। भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको हो । कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।