काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले युवा वर्गमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनुभएको छ । उहाँले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमा नै सहज रूपमा जीवीकोपार्जन गर्नसक्ने बनाउनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।