काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्र्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय गङ्गालाल तुलाधार, विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ । रासस