काठमाडौं – सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्ने भएको हो । यसअघि एकपटक मात्रै बसेको सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न बनेको कार्यदलको बैठकले कार्यदल संयोजकमा नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई तोकेको थियो ।

कार्यदलमा काङ्ग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई–दुई जना सदस्य रहनुभएको छ । कार्यदललाई सिट बाँडफाँडको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ । यो कार्यदलले टुङ्गो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहनुभएका दलका शीर्ष नेताहरुले टुङ्ग्याउने बताइएको छ ।

सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ–आफ्ना दाबी पेश गर्ने बुझिएको छ । सत्तारुढ दल नेपाली काङग्रेसभित्र आफूले ६० प्रतिशत सिट राखेर ४० प्रतिशत अन्य दललाई दिन दवाव बढेको छ भने अन्य दलहरुले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताउँदै आएका छन्।् ।