पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको पहिचान नै प्रदेश संरचना भएको बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले प्रदेश स्थापनाको पाँच वर्षे अवधिमा उल्लेखनीय काम भएको बताउनुभयो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने र सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने बताउनुभयो । प्रदेशमा सडक सञ्जालदेखि खानेपानी, विद्युतीकरण लगायतका क्षेत्रमासमेत गण्डकी प्रदेश सरकारले उल्लेखनीय काम गरेको बताउँदै उहाँले भन्नुभयो, ‘शून्यबाट सुरु भएको प्रदेश सरकारले पाँच वर्ष बित्नै लाग्दा ५० भन्दा बढी कानुन निर्माण, त्यसै अनुसारका नियमावली, कार्यविधि बनाएर अगाडि बढेको छ ।’

जनअपेक्षा पूरा गर्ने गरी सेवाप्रवाह र विकासको काममा अझै द्रुतता दिन नसकिएको स्वीकार्दै उहाँले गत वर्षको अनुभवबाट पाठ सिकेर चालु आर्थिक वर्षमा विशेष सफलता हासिल गर्न लागिने धारणा राख्नुभयो । प्रदेशले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न थप मेहनत गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो ‘गत आवमा विकास निर्माणका काममा के कस्ता प्रगति भए ? वार्षिक बजेट तथा कार्यक्रमको कार्यन्वयन के कति प्रभावकारी भयो ? हामीले सम्पादन गरेका कामबाट प्रदेशको आर्थिक र सामाजिक विकासमा कति सुधार भयो ? त्यसको लेखा जोखाका अतिरिक्त कमिकमजोरी पहिचान गरी त्यसलाई चालु आर्थिक वर्षमा दोहोरिन नदिन आवश्यक तयारी गर्न समेत यो समीक्षा उपयोगी हुनेछ ।’

विकास निरन्तरको प्रक्रिया भएकाले यसमा आउने अवरोध छिचोल्दै जनचाहना बमोजिमका काम गर्नु सरकारको जिम्मेवारी भएको उहाँले बताउनुभयो । गतवर्ष आफ्नो नेतृत्वमा गठबन्धन सरकार निर्माण भएदेखि बाढीपहिरोले निकै समस्या सिर्जना गर्नुका साथै कोभिड–१९ को प्रभाव भए पनि जोखिमको सामना गर्दै प्रदेश सरकारले सङ्घ र स्थानीय तहसँगको सहकार्यमा महत्वपूर्ण काम सम्पादन गर्दै आएको उहाँको भनाइ छ ।

बैठकमा गतवर्षका कामको प्रगति समीक्षाका अतिरिक्त विकासमा झेल्नु परेका समस्या समेत पहिचान गरी त्यसको समाधानको उपाय पहिल्याइने बताउँदै उहाँले प्रदेशबाट समाधान गर्न सक्ने विषय हामीले समाधान गर्ने र नसक्ने विषय प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेश गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले गत आवमा प्रदेशको पुँजीगतखर्च ७८ दशमलव ०५ प्रतिशत रहे पनि यसलाई वृद्धि गर्ने पर्याप्त आधार रहेको बताउनुभयो । प्रदेशले बनाएको आवधिक योजनामा आर्थिक वृद्धिदर करिब ६ दशमलव १७ प्रतिशत पुग्ने अपेक्षा गरिएको बताउँदै मुख्यमन्त्रीले राजस्व परिचालनको क्षेत्रमा पनि प्रदेशको अवस्था सन्तोषजनक नै रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, सरसफाइ र समग्र मानव विकासको क्षेत्रमा प्रदेशका उपलब्धि राष्ट्रिय औसत भन्दामाथि रहेको उहाँको दाबी छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निकट भविष्यको आमनिर्वाचनलाई ध्यानमा राखेर प्रदेश सरकारले निर्धारित कार्यक्रम समयमा नै सुरु गर्ने वातावरण निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । त्यस्तै सङ्घीयता कार्यान्वयन र अधिकार प्राप्तिका लागि स्थानीय तह र प्रदेशले एक साथ आवाज उठाउन जरुरी रहेको बताउँदै उहाँले ‘प्रदेशसँग स्थानीय तहका र स्थानीय तहसँगप्रदेश तहका समस्या छन् भने यस्तै फोरमको प्रयोग गरेर समाधानका उपाय खोज्न सकिन्छ । आखिर हाम्रो साझा लक्ष्य भनेकै समृद्ध नेपाल सुखी नेपाली नै त हो’ भन्नुभयो । रासस