काठमाडौं – सांसदहरूले देशको तथ्याङ्क विश्वसनीय र गोपनीय हुनुपर्ने बताएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा तथ्याङ्क विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसदहरूले देशको तथ्याङ्क गोपनीय र विश्वसनीय हुनुपर्ने बताएका हुन् ।

एमाले सांसदहरू विद्या भट्टराई, कुमारी तुलसा थापा, खगराज अधिकारी, नवराज सिलवालले तथ्यांक ऐन आवश्यक रहेको भन्दै विश्वसनीय बनाउनुपर्ने बताउनुभयो । अहिलेसम्म राष्ट्रिय योजना आयोग मातहतमा रहँदै आएको केन्द्रीय तथ्याङ्क विभागलाई स्वायत्त बनाउन तथ्यांक विधेयक आउनु स्वागतयोग्य भएको उहाँहरू भनाइ थियो ।

गृहमन्त्री बालकृष्ण खाँणले बुधबारको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक छलफलका लागि प्रस्तुत गर्नुभएको थियो । सांसद सिलवालले अहिले बजारमा विभिन्न एनजिओ, आइएनजिओले आफ्नो माध्यमबाट तथ्यांक प्रस्तुत गर्ने गरेको तर सरकारको आफ्नै तथ्याङ्क नभएकाले छुट्टै ऐन आउनु राम्रो काम भएको बताउनुभयो ।

सांसद चाँदताराले अन्तर्राष्ट्रिय समुदायले नेपालको तथ्यांक विश्वसनीय नभएको बताएकाले नेपाल सरकारले आफ्नै तथ्याङ्क प्रस्तुत गर्ने गरी विधेयक ल्याउनु खुसीको कुरा भएको बताउनुभयो । नयाँ किसिमको तथ्याङ्क आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले नेपाल सरकारको आफ्नै तथ्याङ्क नहुँदा निकै समस्या भएको बताउनुभयो ।