काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । आज संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि प्रसाद सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित महाभियोग सिफारिस समितिका सदस्यहरुको बैठक बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकअघि सभामुख र समिति सदस्यहरूबीच छलफल भएको छ ।

समिति कसरी अगाडि बढ्ने विषयमा छलफल भएको र आजको बैठकबाट समितिको सभापति तोक्ने एजेण्डा नरहेको सिफारिस समितिका सदस्य रहेका सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । सांसद कृष्णभक्त पोखरेलले भन्नुभयो, ‘सभामुखले सिफारिस समितिका सदस्यहरुसँग छलफल गर्नुभयो । समितिको बैठक हैन समितिका सदस्यहरुसँग सभामुख र उपसभामुखको बैठक हो । समितिलाई छिटो छरितो काम गर्न सभामुखले भन्नुभयो । सभामुखले समितिका लागि आवश्यक सेवा सुविधाको व्यवस्था गर्ने बताउनुभयो । एमालेको तर्फबाट हामीले यो महाभियोग पास गर्ने उदेश्यले ल्याइएकै हैन भनेर छलफलमा हाम्रो भनाइ राखेका छौँ ।’

गत साउन २२ गते बसेको प्रतिनिधिसभाको बैठकले महाभियोग प्रस्ताव अनुमोदन गरेर छानविनका लागि सिफारिस समितिमा पठाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर विरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।