फाइल तस्वीर


काठमाडौं – आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल गर्न नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीसम्मको बैठक बस्ने तयारी गरेको छ । एमालेले पार्टी केन्द्रीय सचिवालयदेखि स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो ।

एमाले निर्वाचनलाई लक्षित गर्दै आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सवै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तयार गर्न जुट्ने भएको छ । पार्टीका एक प्रभावशाली नेताले बताएअनुसार चुनावी रणनीतिबारे एक खालको छलफल गर्न केन्द्रीय कार्यालयको बैठक बस्ने छ भने त्यस लगतै पार्टी सचिवालयको बैठक बस्ने छ । सचिवालयको बैठकपश्चात् पार्टीको स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीको बैठक बस्ने छ । केन्द्रीय कमिटीको बैठक पश्चात् निर्वाचन केन्द्रीत कार्यक्रम र त्यसका कार्ययोजनाहरु बनाइने भएको छ ।

यसका लागि एमालेले आज बुधबार साँझसम्ममा केन्द्रीय कार्यालयको बैठक बस्ने तयारीमा जुटेको स्रोतको भनाइ छ । आज बस्ने बैठकबसेपछि भोलि बिहीबारका लागि सचिवालयको बैठकको तय हुनेछ । पार्टी केन्द्रीय कार्यालय र सचिवालयको बैठक बसेपछि क्रमशः अन्य कमिटीहरुको बैठक बस्ने मिति तय गर्ने बताइएको छ ।

एमाले उपमहासचिव विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताउनु हुन्छ । उहाँभन्नुहुन्छ ‘बैठक बस्ने निश्चित हो । तर समय तय भैसकेको छैन । छिट्टै सचिवालयको बैठक बसेर पार्टीका अन्य कमिटीहरुको बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्छ ।’

एमालेको पार्टी विधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको निम्ति उम्मेदवार छनौट गर्ने जिम्मा पार्टी केन्द्रलाई नै दिएको छ । तर विगतको परम्पराअनुसार औपचारिकता लागि प्रदेश र जिल्ला कमिटीबाट समेत सम्भावित उम्मेदवारबारे केन्द्रले सुझाव माग्न सक्नेछ ।

सत्तागठबन्धनका पाँच दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धन गरेर निवार्चनमा जाने सहमति गरिसकेकाले एमालेले उम्मेदवार छनोट गर्दा जित्न सक्ने र टिक्न सक्ने उम्मेदवारको खोजीमा ध्यान केन्द्रीत गर्ने भएको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा विचार नमिल्ने पार्टीहरुसँग सहकार्य नहुँने बताउँदै आउनु भएको छ । एमालेकै दोस्रो तहका नेताहरुले आगामी निर्वाचनमा कम्तिमा पनि नेकपा माओवादी केन्द्रसँग मिलेर जानुपर्ने धारणा राखेका छन् एमालेकै कतिपय नेताहरुले बामपन्थी दलहरुबीच चुनावी तालमेल गरेर जानुपर्ने भन्दै आएका छन् ।

एमालेको निर्वाचन लक्षित पार्टी कमिटीका बैठकहरुले आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा व्यापक छलफल गरी मिल्नसक्ने बामपन्थी दलहरुसँग चुनावी तालमेल गरेर जानसक्ने बलियो सम्भावना रहेको देखिन्छ ।