फाइल तस्वीर

काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनमा अधिकतम जनसहभागिता हुनेगरी निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगद्वारा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरूपमा निर्वाचन सफल बनाउने दृढता समेत व्यक्त गर्नुभएको छ ।

आयोगले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुर्गम गाउँबस्तीका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत गराउन आमसञ्चार माध्यम र सञ्चारकर्मीहरुको ध्यान जानुपर्ने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले समयावधि कम भएकाले गत स्थानीय तहको निर्वाचनमा सोचेजति काम गर्न नसकिएको भन्दै यसअघिका राम्रा पक्षलाई समेटेर आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई सरल, सहज र मितव्ययी ढङ्गबाट सम्पन्न गर्ने बताउनु भयो । ‘निर्वाचनको सर्वमान्य सिद्धान्त अवलम्बन गरी सबैलाई समान व्यवहार गर्ने गरी कामकारवाही हुनेछ, बढीभन्दा बढी जनताको सहभागितमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध आयोगले सम्बद्ध सबै पक्षबाट सहयोगको अपेक्षा गरेको’ धारणा व्यक्त गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आमसञ्चार माध्यमसहित राज्यका सबै जिम्मेवार निकायहरुसँग साझेदारी र सहकार्य गरी आगामी आमनिर्वाचन सम्पन्न गर्ने पक्षमा आयोग रहेको स्पष्ट गर्नुभयो । प्रमुख निर्वाचन आयुक्तले निर्वाचन प्रचारप्रसारका क्रममा राज्यद्वारा सञ्चालित आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नो स्रोतसाधनको अधिकतम सदुपयोग गरी निर्वाचन प्रक्रियामा सरिक हुन सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, रेडियो नेपालजस्ता सार्वजनिक सञ्चार माध्यम नेपालको लोकतान्त्रिक इतिहासको जिउँदो साक्षी रहेको चर्चा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मङ्सिर ४ गते हुने निर्वाचनमा पनि मुलुकका जिम्मेवार आमसञ्चार माध्यमबाट स्वस्फूर्त रूपमा साथ, सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।