काठमाडौं – काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताउनुभएको छ । गए राति अज्ञात व्यक्तिले बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने साधनमाथि तोडफोड भएपछि मेयर शाहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिनुभएको हो ।

विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नगर्न आग्रह गर्नुभएका मेयर शाहले फोहोर बोक्ने साधनमाथिको तोडफोड घटनाको अनुसन्धान गर्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गर्नुभएको छ । सवारीसाधन तोडफोड गर्नेलाई कडा कारबाही गर्न माग गर्दै मेयर शाहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा यस घटनालाई लिएको बताउनुभएको छ ।

सवारीसाधन तोडफोडको घटनालाई लिएर आज अपराह्न मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो लेख्नुभएको छ :
फोहोर व्यवस्थापनप्रति काठमाडौं महानगरपालिका सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरण बद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरूलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरूबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको छ ।

यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौँ । केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।