फाइल तस्वीर
काठमाडौं –नर्भिक अस्पतालले सरकारसँग लिजमा लिएको जग्गामा नक्सा पास नगरी सम्झौताविपरीत बनाइएका संरचना २४ घण्टाभित्र हटाउन आफैंले दिएको निर्देशनमा काठमाडौं महानगरपालिका लच्किएको छ ।

नर्भिक अस्पताललाई नक्सा पास नगरी बनाइएका संरचनाहरु २४ घण्टाभित्र हटाउन निर्देशन दिनुभएको थियो । महानगरपालिकाले दिएको समयसीमा आज मङ्गलबार दिउँसो २ बजेसम्म थियो ।

नर्भिक अस्पताल प्रशासनले आजै पत्रकार सम्मेलन गरी बिरामीको उपचारमा प्रतिकुल प्रभाव पर्नेभएका काठमाडौं महानगरपालिकाले भनेअनुसार तत्काल ति भौतिक संरचनाहरु भत्काउन नसकिने बताएको थियो ।

आफैंले दिएको निर्देशनको २४ घण्टा पुगेसँगै महानगरपालिका मेयर साह स्वयम् नर्भिक अस्पताल पुग्नु भएको थियो । सोहीक्रममा अस्पताल प्रशासनले सरकारसँग सम्झौता गरी भाडामा लिएको जग्गामा निर्माण भएका भौतिक संरचनामा अक्सिजन प्लान्ट र अत्यावश्यक सामान रहेकोले त्यहाँ रहेको भौतिक संरचना तत्काल हटाउन नसकिने भन्दै समय माग गरेको थियो ।

अस्पतालले अक्सिजन प्लान्ट र अत्यावश्यक सामानहरु व्यवस्थापन गर्न समय लाग्ने भएकाले त्यसका लागि समय मागेपछि काठमाडौं महानगरपालिका र अस्पतालका इञ्जिनियरसहितको टोलीले अध्ययन गरे पश्चात् अवैध रुपमा बनेका संरचना हटाउने विषयमा निष्कर्षमा पुग्ने समझदारी भएको अस्पताल प्रशासनले बताएको छ ।