फाइल तस्वीर

काठमाडौं – काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएको छ । काठमाडौंबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका गाडीहरू अज्ञात समूहले तोडफोड गरेका छन् । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले १४ वटा फोहोर बोकेका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड गरेका हुन् ।

सोमबार दिउँसो धुनवेशी गाउँपालिकाका स्थानीयले सडक मर्मत हुनपर्ने भन्दै आन्दोलन गरेका थिए । महानगरपालिकाले बल प्रयोग गरेरै पनि बञ्चरेडाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए । पार्किङ गरेर राखिएका गाडीमा राती अज्ञात समूहले तोडफोड गरेको बताइएको छ ।

घटनाबारे विस्तृत अध्ययन गरेर आन्दलोलनकारी पत्ता लगाउन महानगरले प्रहरी टोलीलाई खटाएको छ । तर, पछिल्लो समय पुनः स्थानीयवासीले आफ्ना मागबारे बेवास्था गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।