फाइल तस्वीर


काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्का चिनियाँ भ्रमणमा जान लाग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा.खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्न लागेको हो ।

मन्त्री डा. खड्काको नेतृत्वमा ११ सदस्यीय भ्रमण टोली आज मङ्गलबार चीनको तीन दिने भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालय जानकारी गराएको हो । भ्रमणका क्रममा दुवै समकक्षीबीचको दुई देशको आपसी हितका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि नेपालको तर्फबाट पहिलोपटक चीनमा उच्च तहको भ्रमण हुन लागेको हो  । भ्रमणमा दुई मुलुककाबीच सन् २०१९ अक्टोबरमा नेपालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन लगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।