फाइल तस्वीर
काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यतालिका तयार गरेको छ । आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार आगामी निर्वाचनका लागि सोसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्नु पर्ने भएकोले आयोगले सो काम गर्न भदौ २५ गते लेखिपठाउने भएको छ ।

आयुक्त पौडेलका अनुसार आगामी असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उठ्नेहरुका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गर्ने र २८ गतेदेखि मतपत्र छपाईको काम सुरु हुनेछ ।

आयोगले बनाएको निर्वाचन कार्यतालिका अनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिने भएको छ ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ १६५ जना तथा सातै प्रदेशका कुल ३३० जना प्रदेशसभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छन् ।

आयोगले असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोक्ने भएको छ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि उम्मेदवारले चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेकोछ । निर्वाचनको दिन मङ्सिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदाताहरुले मतदान गर्ने समय निर्धारण गरेको छ । आयोगले उक्त अवधिमा विभिन्न ७६ वटा कार्यक्रम गर्नुको साथै त्यसमध्ये केही कार्यक्रम आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछ ।

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु गरेको छ भने दल दर्ता गर्ने अन्तिम मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ । आयोगमा दल दर्ताको काम भैरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फको नामावलीको बन्दसूची असोज २ र ३ गते पेस गर्ने कार्यतालिका बनाएको छ ।