फाइल तस्वीर


काठमाडौं – सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज मङ्गलबार बिहान ११ बजे बस्दैछ । आज हुने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावका साथै अन्य केही प्रस्तावहरुमा माथि छलफल हुने भएको छ ।

आजको बैठक प्रारम्भ भएलगतै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने हुनेछ ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा रहने सदस्यहरु हेरफेर गर्ने, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी आजकै बैठकमा २०६२/०६३ को जनआन्दोलनबाट स्थापित भएको समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधानले स्वीकार गरेको परिवेशमा महिलाको उल्लेखनीय सहभागिता नभएकाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै जरुरी सार्वजनिक महत्वको विषयमाथि विभागीय मन्त्रीको ध्यानाकर्षण गराउने समेत कार्यसूची रहेको छ ।

समानुपातिक समावेशी सहभागिताको विषयलाई सुनिश्चितताको लागि सङ्घीय संसद र प्रदेशसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान सङ्ख्यामा प्रतिनिधित्व गराउन हाल निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी कानुन संशोधनको एकीकृत मस्यौदा तयारीको लागि विभिन्न क्षेत्रबाट सुझावहरु सङ्कलन गरिएका छन् ।

प्रतिनिधिसभामा समेत यस विषयमा छलफल गर्न माग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक राजनीतिक दलले जनसङख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने, स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने र स्थानीय तहका वडाहरुमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसङ्ख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गर्ने जस्ता विभिन्न सुझावहरु दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले बताएको छ ।