फाइल तस्वीर

काठमाडौं – सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोही अनुसार समायोजन हुनुपर्नेमा हाल दुई–दुई पटक मूल्य घटेको तर नेपाल आयल निगमले किन मूल्य नघटाएको भनी प्रश्न गर्नुभयो । सांसद दिपा गुरुङले राज्यले युवालाई सही दिशा दिन नसके युवा वर्ग विकृतिको सिकार हुनसक्ने बताउँदै खेलकुद मन्त्रालयको बजेट कम भएको टिप्पणी गर्नुभयो । उहाँले खेलकुद विकास र समृद्धिको परिचायक भएको बताउँदै सरकारले खेलाडीलाई सम्मान गर्ने गरी हौसला बढाउने कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शिता आवश्यक रहेकामा जोड दिँदै सबै मन्त्रीका काम जनताले हेर्न पाउने गरी सिसीटिभीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । साथै उहाँले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कानूनअनुसार कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । सांसद गङ्गाकुमारी बेलवासेले संवैधानिक परिषद्मा पूर्ववर्ती सरकारले अध्यादेशमार्फत आफू खुसी नियुक्ति गरेको स्मरण गर्दै यसमा आगामी दिनमा संशोधन गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत रहने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसद गोमादेवी तिमिल्सिनाले देशको राजधानीमै फोहरको समस्या बढेको, ढल फुटेर दुर्गन्ध बढेको, बाटोका खाल्डामा पानी भरिएर हिँड्न गारो भएको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । केही राजनीतिक दलका क्रियाकलापका कारण राजनीतिक दलको विकल्पको आवाज उठ्न थालेकामा चिन्ता व्यक्त गर्दै हालका उपलब्धि यिनै दलका कारण आएको हो भन्ने कुरा पनि बिर्सन नहुने बताउनुभयो । सांसद भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा विभिन्न स्थानमा केही व्यक्तिका नाम अपमान हुने गरी उल्लेख भएको सन्दर्भमा ध्यानाकर्षण गराउँदै यस्ता लापरबाही गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

सांसद सुमित्रा विसीले महँगी बढेर जनतालाई थप दु:ख भएको उल्लेख गर्दै सरकारले अनुगमनमा कडाइ गरी नियन्त्रण गर्नुका साथै उहाँले मुगु जाने सहुलियतको नुन बाटोमा हराएको सम्बन्धमा सरकारसँग स्पष्ट जानकारी माग गर्नुभयो । सांसद बिना पोखरेलले संविधानमा समाजवाद उन्मुख भनेका छौँ तर कसरी जाने भनेर केही नदेखेको बताउँदै देशमा ज्येष्ठ नागरिकको अवस्था दयनीय भएकाले सरकारको ध्यान जाओस् भन्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाई जीवन धान्न केही सामाजिक सुरक्षा भत्ता दिएर मात्र खुसी नभएको भन्दै उनीहरूको जीवन खुसी तथा सन्तुष्टि र सम्मानका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताउनुभयो ।

सांसद नरबहादुर विष्टले अहिले लघुवित्त कम्पनीले गाउँमा चर्को ब्याज लिने गरेको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि आवश्यक पहल गर्न माग गर्नुभयो । उहाँले पूर्ववर्ती सरकारका पालामा बढेको दण्डहीनताका कारण अहिले पनि त्यस्ता घटना देखिने गरेको टिप्पणी गर्दै यसलाई नियन्त्रण गर्न तथा नदोर्होयाउन सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

सांसद तुलसाकुमारी दाहालले सामान्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको बताउँदै कानुनले व्यवस्था गरेका शिक्षा, सामाजिक न्याय, सुरक्षा, राज्यका निकायमा सहभागिता, सेवामा पहुँचलगायत विषयमा गरेका व्यवस्था भएका कानुन कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिलाई सेवामा प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद रमेशजङ्ग रायमाझीले सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचन घोषणा गरेकामा स्वागत गरे। उनले वर्तमान सरकारले संसद्लाई जीवित राखेर आमनिर्वाचनमा जान गरेको निर्णय उत्तम भएको र यो प्रशंसायोग्य भएको बताए ।