फाइल तस्वीर
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एकता घोषणा भएको हो ।


लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष प्रेमदीप थाम्सुहाङले दुई पार्टीबीच एकता गर्दै पार्टीको नाम, झण्डा र छाप भने लोकतान्त्रिक समाजवादी पार्टीकै रहने गरी दुई पार्टीबीच एकता गरिएको छ । यसरी हेर्दा राष्ट्रिय एकता पार्टी नेपाल लोकतान्त्रिक समाजवादी पार्टीमा विलय भएको छ ।

विगतमा भएको लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले स्वामित्व ग्रहण गर्ने सहमति भएपछि दुई पार्टीबीच एकता भएको हो ।

दुई पार्टीका अध्यक्षद्वयबीच भएको पार्टी एकतामा जिल्ला,प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै सङ्गठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ । आगामी सङ्घ र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय एकता पार्टी नेपाललाई समुचित स्थान दिइनुको साथै राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमकुमारलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश १ को इन्चार्जको समेत जिम्मेवारी दिएको सम्झौतापत्रमा उल्लेख गरिएको छ ।