फाइल तस्वीर

काठमाडौं – राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको हुँदा सांसदहरुको कार्यकाल सकिएको हुँदा प्रतिनिधिसभाको बैठक राख्नु गतल भएको धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभा सदस्य देवकोटाले आज राष्ट्रियसभाको बैठकमा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

आज सोमबार बसेको राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सभासद् देवकोटाले ‘सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि सांसदहरूको कार्यकाल समाप्त भैसकेको तर प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरिएको टिप्पणी गर्नुभएको छ ।

संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्ममात्र कायम रहने उल्लेख गरेको भन्दै बैठकमा सभासद देवकोटाले संविधानतः ‘सभामुख र उपसभामुख बाहेक प्रतिनिधिसभाका सबै सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने’ बताउनु भयो ।

‘प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल समाप्त भएको हुँदा बैठक राख्न पाइँदैन, पसल खोल्न पाइँदैन’ भन्दै राष्ट्रियसभाका सदस्य देवकोटाले राज्यको दोहन गर्ने काम बन्द गर्न माग गर्नुभयो ।

राष्ट्रियसभाका सदस्य देवकोटाले आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मिति घोषणा भैसकेपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा काम चलाउ भएकाले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न तथा नीति तथा कानुन नबनाउन समेत सरोकार पक्षको ध्यानाकर्षण गराउनु भएको थियो ।

राजनीतिलाई दुहुनो गाई ठान्ने घातक प्रवृत्ति रहेको टिप्पणी गर्दै राष्ट्रियसभा सदस्य देवकोटाले यस्तो प्रवृत्तिको अन्त्यका लागि लगातार दुई पटक निर्वाचनमा विजयी भएकाहरूलाई तेस्रो पटक टिकट नदिन पनि प्रमुख राजनीतिक दलहरूसँग आग्रह गर्नुभएको छ ।