फाइल तस्वीर

काठमाडौं – आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन दलहरुबीच सीट बाँडफाँड गर्दा नेपाली काङ्ग्रेस एक सय सिट लिन नेतृत्वलाई सुझाएको छ । नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको आज बसेको बैठकले सय सिट राखेर गठबन्धन गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको हो ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सय सिट आफ्नो पार्टीको पक्षमा हुनुपर्ने भन्दै त्यसमा गठबन्धन दलहरु सहमत नभए काङग्रेस एक्लैले चुनाव लड्न समेत सुझाव दिएका छन् ।

‘काङग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुन्छ भन्ने सुझाव आएको भन्दै अन्यथा काङ्ग्रेसको सिट व्यवस्थापन सम्भव हुँदैन ।’ बैठकमा सहभागी एक नेताले बताए ।

यता प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादु देउवाले भने गठबन्धनलाई बलियो बनाएर लग्नु पर्ने भएको हुँदा आफुहरु लचिलो नभए गठबन्धनमा समस्या आउन सक्ने र विपक्षी दलले गठबन्धनलाई फुटाएर कम्युनिस्टहरुको गठबन्धन बलियो बन्न सक्नेप्रति सङ्केत गर्दै पदाधिकारी र पूर्वपदाधिकारीलाई त्यही अनुरुपको मानसिकता बनाउन आग्रह गर्नुभएको थियो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फबाट गठबन्धन कार्यलयमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताउनु भएको छ । प्रवक्ता महतले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको बताउनु भयो ।

प्रवक्ता महतका अनुसार पार्टीका तर्फबाट सत्ता गठबन्धन कार्यदलका सदस्यहरुसँग छलफल भएको र आजै पाँच दलीय कार्यदलसँग छलफल हुने बताउनु भएको छ । पार्टी सभापति देउवाले ‘पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै सुझाव सल्लाह लिन आजको बैठक राख्नु भएको हो । आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले आगामी निर्वाचनमा एक सय सीट आफुले राखेर गठबन्धन गरेर जानसकिने सभापति देउवालाई सुझाव दिएका छन् ।