काठमाडौं – सरकारले असमान ढङ्गले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै सिंहदरबारका नायव सुब्बाहरूले पेन डाउन सुरु गरेका छन् । बजेट घोषणाविपरीत सरकारले असमान ढङ्गले तलब वृद्धि गरेको उनीहरुको आरोप छ । आन्दोलनका कार्यक्रमअनुसार भोलि मङ्गलबार नायब सुब्बा (नासु) कर्मचारीले बिदामा बस्ने घोषणा गरेका छन् । निजामती कर्मचारी युनियनका अनुसार मुलुकभरका नासु कर्मचारीले भोलि बिदामा बस्ने निर्णय गरेका हुन् ।

नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढेपनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति कर्मचारी सङ्गठनले जनाएको छ । सरकारले प्रस्तावित सङ्घीय निजामति ऐनमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै आजैदेखि आन्दोलन सुरु गरेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले आज ‘पेन डाउन’ गर्ने र भोलि देशभरका नासु बिदामा बस्ने तथा अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य मन्त्रालयका सचिवलाई तल्लो कर्मचारीहरुको मागका विषयमा एसएमएस गर्ने निर्णय गरेको छ । भेलाले थप आन्दोलनका कार्यक्रम भोलि नै तय गर्ने पनि निर्णय गरेको छ ।

तल्लो तहका कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् । उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । आफूहरुले राखेको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने निजामति कर्मचारी सङ्गठनले जनाएको छ ।