फाइल तस्वीर

काठमाडौं – सत्तारूढ गठबन्धनभित्र आसन्न निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आगामी मङ्सिर ४ गते एकैचरणमा तय भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने बताइएको छ । दलहरूले सिट संख्या दाबी गर्ने गरी ठोस छलफल गरिसकेका छैनन् । आधार र माददण्ड तयार भएपछि सिट बाँडफाँडबारे दलहरूको तर्फबाट दाबी पेश गरिनेछ । निर्वाचनमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँड गर्न गत शुक्रबार बसेको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलको पहिलो बैठक आज बस्न लागेको हो । कार्यदल बैठकमा सिट बाँडफाँडका आधारलगायत विषयमा कुराकानी हुने बताइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट राम सहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् । यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँडबारे टुङ्गो लगाउन समयसीमा तोकिएको छ ।